मन्दिरको जग्गामा अवैध निर्माण : सांसद र प्रशासनको मौन सहकार्य?

जनकपुरधाम, २६ चैत । नेपाली कांग्रेसबाट निर्वाचित मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा अवैध घर निर्माण कार्यलाई अहोरात्र निरन्तरता दिएका छन् । स्थानीय समुदायमा गम्भीर विरोध रहेपनि सरोकारवाला निकायका प्रतिनिधिहरूको मौनता भने प्रश्नचिन्ह बनेको छ ।
सांसद जंगीलाल यादवका छोरा डा. अमित यादवले मन्दिरको सार्वजनिक जग्गामा २४ घण्टा कामदार खटाएर घर निर्माण कार्यलाई निरन्तर चलाइरहेका छन् । स्थानीयका अनुसार मन्दिरको सार्वजनिक जग्गा भनेको साझा सम्पत्ति हो । त्यसलाई व्यक्तिगत लाभको लागि प्रयोग गर्न नदिने अडान राखिएका छन् ।
यो विवाद २०६८ सालमा शुरू भएको हो । त्यसबेला विहारकुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले मन्दिरको जग्गा सांसद जंगीलाल यादवलाई २२ लाख रुपैयाँमा बेचेका थिए । पूजारी दासले सो जग्गा यादवलाई वार्षिक ४० किलो धान बुझाउने शर्तमा मनखपमा बेचेको स्वीकार गरे पनि स्थानीयहरू यसलाई सार्वजनिक सम्पत्ति दुर्पयोगको प्रयास मानेर विरोध गर्दै आएका छन् ।

सांसद यादव भने यस विवादमा आफूलाई वैधानिक रुपमा मन्दिरको जग्गा किनिएको र स्थानीयले यसलाई विवादित बनाउने प्रयास गरेको दाबी गर्दै आएका छन् । उनका अनुसार पूजारी रामसागर दासको कागजातमा आधारित भएर उक्त जग्गा उनले कानूनी रूपमा किनिएको हो । तर, स्थानीय भने यसलाई सार्वजनिक सम्पत्ति मानेर यसको दुरुपयोग रोक्नुपर्नेमा जोड दिँदै छन् ।
सार्वजनिक जग्गामा निर्माण कार्य चलिरहेको अवस्थामा स्थानीय बासिन्दाले प्रशासनका विभिन्न निकायसँग बारम्बार उजुरी दिएका छन् । यो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख जिल्ला अधिकारी र अन्य निकायलाई बारम्बार ध्यानाकर्षण गरिएको भए पनि कुनै सुनुवाई नभएको स्थानियको भनाइ छ । स्थानीय युवा दीपक पटेलका अनुसार प्रशासनले यस विषयमा मौन समर्थन गरिरहेको छ र यो मुद्दाको समाधान नगरी छोडिएको छ ।
गुठी संस्थान जनकपुरका प्रमुख आनन्द कर्माचार्यका अनुसार गुठीको जग्गामा स्थायी संरचना बनाउन कानूनी रूपमा अनुमति छैन । उनले भने, ‘यदि कुनै अनियमितता भए हामी त्यसको जाँच गरी कारवाही गर्नेछौं ।’ उनले गुठीको जग्गामा निर्माण कार्यको अनियमिततामा ध्यान पुर्याउने बताए पनि निर्माण कार्य धमाधम जारी छ ।

यस विवादका बारेमा नगर प्रमुख मनोज कुमार साहले भने, ‘यदि लिखित निवेदन आउने हो भने कारवाही प्रक्रिया अगाडि बढाउनेछौं ।’ उनले सम्बद्ध सबै सरोकारवालाका बीच संवाद र समाधान खोज्ने कुरा पनि बताए ।
यस विषयमा सम्पूर्ण निकायलाई जानकारी हुँदाहुँदै पनि यस मुद्दामा मौनता राख्नुले स्थानीय समुदायमा असन्तोषलाई बढाउँदैछ । अब प्रशासन र अन्य सरोकारवाला निकायहरूले यस समस्याको समाधानमा तदारुकता अपनाउन र मन्दिरको सार्वजनिक जग्गामा भइरहेको अवैध निर्माणलाई तुरुन्त रोक्नका लागि ठोस कदम चाल्नु पर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ ।
तलका समाचारहरू पनि पढनुहोस्
वार्षिक ४० किलो धान मनखपमा करोडौंको जग्गा सांसद यादवको कब्जामा
सांसदको छोराद्वारा शक्तिको आडमा अवैध निर्माण कार्य जारी, स्थानीयद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्र
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


