महोत्तरी, १० कार्तिक । गुठी संस्थान शाखा कार्यालय महोत्तरीले गुठी मातहतका जग्गामा अनधिकृत संरचना निर्माण, अतिक्रमण तथा रुख कटान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै गुठी जग्गामा अनुमति नलिई निर्माण कार्य गर्ने, जग्गा अनधिकृत रूपमा भोगचलन गर्ने तथा त्यहाँ रहेका बोटबिरुवा र रुख काट्ने कार्य गैरकानुनी हुने स्पष्ट पारेको हो ।

गुठी संस्थानको स्वामित्व तथा रेखदेखमा रहेका जग्गाहरू धार्मिक, सांस्कृतिक र सार्वजनिक महत्त्वका सम्पत्ति भएको उल्लेख गर्दै कार्यालयले पछिल्लो समय केही व्यक्ति तथा समूहबाट त्यस्ता जग्गामा अनधिकृत गतिविधि भइरहेको जानकारी प्राप्त भएको जनाएको छ ।

कार्यालयका अनुसार लिखित अनुमति र आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गुठी जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न, जग्गा अतिक्रमण गर्न वा अन्य अनधिकृत गतिविधि गर्न पाइने छैन ।

त्यस्तै, गुठी जग्गाभित्र रहेका साना–ठूला रुख, बुट्यान तथा अन्य वनस्पति पनि सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना काट्न, उखेल्न वा नष्ट गर्न निषेध गरिएको छ ।

सूचनाको उल्लंघन गरी गुठी जग्गामा अतिक्रमण गर्ने, अनधिकृत संरचना निर्माण गर्ने वा रुख कटान गर्ने व्यक्तिमाथि प्रचलित गुठीसम्बन्धी कानुन तथा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ ।

त्यस्ता कार्यबाट भएको हानिनोक्सानीसमेत सम्बन्धित व्यक्ति वा पक्षबाट असुलउपर गरिने सूचनामा उल्लेख छ ।

गुठी जग्गा तथा सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाउँदै कार्यालयले यस्ता गैरकानुनी गतिविधि भएको देखेमा तत्काल गुठी संस्थानको शाखा कार्यालय वा नजिकैको प्रहरी चौकीमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कार्यालयले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र गुठी सम्पत्तिको उचित व्यवस्थापनका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।