वार्षिक ४० किलो धान मनखपमा करोडौंको जग्गा सांसद यादवको कब्जामा

जनकपुरधाम, १५ चैत । जनकपुरधामका मन्दिरका महन्थ तथा पुजारीहरूले मन्दिरको जग्गा कौडीको भाउमा बिक्री गरिरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित विजय राघव कुञ्जका पुजारी राम सागर दासले मन्दिरको नाममा रहेको सिट नम्बर १६९–१२७५–२४ को कित्ता नम्बर ३० को ६ कट्ठा ५ धुर ३ कनमा जग्गा प्रदेश सभा सदस्य जंगीलाल राय यादवलाई मनखपको कागजमार्फत वार्षिक ४० किलो धान बुझाउने सर्तमा बेचेका हुन् ।
पुजारी दासले आफूले सो जग्गा २२ लाख रुपैयाँमा बेचेको स्वीकार गरेका छन् । पुजारी दासले मन्दिरका अन्य जग्गाहरू पनि यस्तै मनखपको कागजमार्फत बिक्री गरेको स्वीकारेका छन् । यसरी नै मन्दिरको नाममा रहेको ५ बिग्हा जग्गामध्ये २४ कट्ठा जग्गा उनले बेचेको बताए । उनका अनुसार धनुषा, महोत्तरी, सिरहा, सर्लाही र भारतमा रहेको मन्दिरको जग्गा पनि उनले यस्तै प्रकारले बिक्री गरिरहेका छन् ।
मनखपको नाममा प्रायः सबै मन्दिर र कुट्टीका महन्थ तथा पुजारीहरुले जग्गा बेच्दै आएकोले आफूले पनि सोही अनुसार गरेको दासको भनाइ छ ।
उनले भने, ‘सांसद यादवसँग २०६८ सालमै सो जग्गाका लागि २२ लाख रुपैयाँको नगद लेनदेन भएको थियो । यो मेरो व्यक्तिगत सम्पत्ति हो । म चाहन्छु भने जसलाई पनि बेच्छु, त्यसमा अरु कसैको चासो हुनुहुँदैन ।’ उनले यस्ता थुप्रै जग्गाहरु आफूले बेचेको जानकारी दिए ।
जनकपुरधाममा मठमन्दिरको जग्गामा मनखप भनी दिइएको जमिनमा घर निर्माण गर्न पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासामा पुजारी दासले भने, ‘पूरा जनकपुर नै मठ मन्दिरको जग्गामा कोही मनखप त कोही मोहियानी भनेर बसेका छन् । अहिले त्यहाँ वस्ती भइसकेको छ । त्यसमा कोही घर बनाओस्, विद्यालय वा अस्पताल बनाओस्, त्यससँग मेरो कुनै सरोकार छैन ।’
सो जग्गामध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक ४० किलो धान मनपखमा दिने सर्तमा सांसद यादवका छोरा अमित यादवसँग २०६८ साल फागुन १६ गते महन्थ दासले सम्झौता गरेका छन् । बाँकी २ कट्ठा ४ धुर जग्गा पनि अमितले आफ्नै नातागोताका व्यक्तिलाई दिएका छन् ।
दासले बेचेको जग्गामा अहिले अमितले घर निर्माण गरिरहेका छन् । सो जग्गामा सांसद यादवसहित नेपाली कांग्रेसका नाम कहलिएका नेता तथा महोत्तरीका विभिन्न पालिकाका प्रमुखहरुको पनि संलग्नता रहेको बुझिएको छ ।
स्थानीय बासिन्दा दिपक पटेलका अनुसार यादवले गुण्डाको संरक्षणमा जग्गामा माटो भर्ने कार्य गरिरहेका छन् । यसबारे स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् ।
यता, अमितले भने उक्त जग्गा लीजमा लिएको दाबी गर्दै २०७३ सालमै उपमहानगरपालिकाबाट नक्सा पास गराएको बताउँछन् । उनले सो जग्गामा कानुनी प्रक्रियामा रहँदै निर्माण कार्य गरिरहेको बताए ।
दाताहरुले मठमन्दिरका लागि दान गर्ने जग्गा मन्दिरका महन्थहरुबाट उच्च पदस्थ व्यक्तिहरुले कब्जा गर्ने जनकपुरधामको यो कुनै नौलो घटना होइन । यसअघि पनि कयौं सांसद, मन्त्री र कर्मचारीहरुले मठमन्दिर र गुठीको जग्गा कब्जा गरिसकेका छन् ।
संकटमा सम्पदा, चुपचाप सरकार
जनकपुरधामका धार्मिक सम्पदा संकटमा पर्दै गर्दा मन्दिरका महन्थ, पुजारीहरू र राजनीतिक नेताहरुको संलग्नताले यो समस्या अझ जटिल बनाएको छ । यस्ता ऐतिहासिक सम्पदाहरूको संरक्षणको जिम्मेवारी भएका निकायहरू मौन देखिएका छन् । गुठी तथा सार्वजनिक सम्पत्तिहरूको अवैध कारोबारले जनकपुरधामका धार्मिक र सांस्कृतिक पहिचानमा संकट उत्पन्न गरिरहेको छ ।
सरकार र स्थानीय प्रशासनले अविलम्ब ठोस कदम नचाले जनकपुरधामको ऐतिहासिक पहिचान नै संकटमा पर्ने प्रायः निश्चित छ ।