जनकपुरधाम, १० कार्तिक । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खटिएको टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरू वनपैदावर चोरी, लागुऔषध, चोरी तथा सवारी अंगभंगसम्बन्धी मुद्दाका रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये वनपैदावर चोरीसम्बन्धी मुद्दाका दुई जना, लागुऔषधसम्बन्धी मुद्दाका दुई जना, सवारी अंगभंगसम्बन्धी मुद्दाका तीन जना र चोरीसम्बन्धी मुद्दाका एक जना रहेका छन् ।

धनुषा जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई विभिन्न अवधिको कैद तथा जरिवानाको सजाय तोकिएको थियो ।

प्रहरीले पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेस गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले फरार प्रतिवादी पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको जानकारी दिएका छन् ।