सिरहा, १० कार्तिक । सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापा तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नगरपालिकाको वडा नम्बर ६ र ७ मा रहेका पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनका क्रममा अनियमितता भएको उजुरी परेपछि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने राजस्वमध्ये २७ लाख ३४ हजार ९१३ रुपैयाँ गैरकानुनी रूपमा छुट दिएको र आर्थिक वर्ष २०७८/७९ मा एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा राजस्व असुल नगरेको आयोगको दाबी छ ।

आयोगका अनुसार दुवै आर्थिक वर्षमा गरी कुल एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको देखिएको छ ।

नगर कार्यपालिकाको २०७८ साउन ४ गतेको बैठकबाट प्रचलित कानुन तथा आर्थिक ऐनविपरीत राजस्व छुट दिने निर्णय गरिएको र साउन १४ गतेको बैठकबाट प्रतिस्पर्धाबिनै अमानतमा राजस्व सङ्कलनको जिम्मेवारी वीरेन्द्रकुमार यादवलाई दिने निर्णय गरिएको आयोगको आरोप छ ।

आयोगले राजस्व असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्नेमा नगरेको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई गैरकानुनी लाभ लिने बदनियत राखेर काम गरेको निष्कर्ष निकालेको छ ।

आरोपपत्रमा तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ ।

अर्का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौडेलविरुद्ध भने एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित प्रावधानअनुसार कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको छ ।

तत्कालीन नगरप्रमुख तेलीलाई सार्वजनिक पदमा रही गरेको कसुरका आधारमा थप सजाय गर्नसमेत माग गरिएको आयोगले जनाएको छ ।