सांसदको छोराद्वारा शक्तिको आडमा अवैध निर्माण कार्य जारी, स्थानीयद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्र

जनकपुरधाम, १७ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मा रहेको मन्दिरको जग्गामा राजनीतिक शक्तिको आडमा मधेश प्रदेशका सांसद जंगीलाल राय यादवका छोरा डाक्टर अमित यादवले अवैध निर्माण कार्य जारी राखेका छन् ।
जनकपुरधाम–८ बिहार कुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले जनकपुरधाम–१४ प्रगतिनगरमा मन्दिरको नाममा रहेको जग्गा सांसद यादवलाई २२ लाख रुपैयाँमा बेचेका थिए । सोही जग्गामा अमितले धमाधम अवैध निर्माण जारी राखेका हुन् ।
पूजारी दासले मनखपको कागजमार्फत वार्षिक ४० किलो धान बुझाउने शर्तमा मन्दिरको नाममा रहेको सिट नम्बर १६९–१२७५–२४ को कित्ता नम्बर ३० को ६ कट्ठा ५ धुर ३ कनमा जग्गा सांसद यादवलाई २०६८ सालमै २२ लाख रुपैयाँमा बेचेको यसअघि नै स्वीकार गरिसकेका छन् ।
यसैबीच, स्थानीयले सो निर्माण कार्य बन्द गनुपर्ने माग गर्दै आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
स्थानीयले मन्दिरको नाममा रहेको सार्वजनिक जग्गामा प्रदेश सभा सदस्य यादवका छोरा डा. अमित यादवले बलजफ्ती पर्खाल निर्माण गर्दै शक्तिको आडमा गलत कार्य गरिरहेको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी रामु राज कडरियासमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विवादको शुरुवात चैत १५ गते बिहान भएको थियो । वडा नम्बर–१४ का स्थानीयले मन्दिरको सार्वजनिक जग्गामा घेराबेर गर्दै गरेको देखेपछि घेराबार रोकी कामदारलाई तत्काल हट्न भने । तर, कामदारहरूले उक्त जग्गा सांसद जंगिलाल राय यादवको भएको दाबी गरेपछि स्थिति तनावग्रस्त बन्यो । स्थानीयले सार्वजनिक जग्गामा कुनै निर्माण हुन नदिने चेतावनी दिएपछि सांसद यादवले सो जग्गा आफ्नो भएको दाबी गरे ।
स्थानीयले मन्दिरको सार्वजनिक जग्गा स्थानीय बासिन्दाहरूको साझा सम्पत्ति भएको र कुनै विवादबिना भोगचलन गर्दै आएको बताए । उनीहरूले सांसद यादवमाथि सार्वजनिक सम्पत्तिमा अनाधिकृत रूपमा पर्खाल निर्माण गरिरहेको र आफूहरूले विरोध गर्दा धम्की दिइएको आरोप लगाए । सांसद यादव र पूजारीले एकअर्काको मिलोमतोमा यो कार्य गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग राख्दै स्थानीयले प्रहरीमा लिखित पनि उजुरी दिएका थिए ।

यता, सांसद यादव पक्षले मन्दिरको जग्गा वैधानिक रूपमा किनेको दाबी गरेको छ । बिहार कुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले मन्दिरको नाममा रहेको उक्त जग्गा सांसद यादवलाई बेचेको बताए ।
स्थानीयले उक्त सार्वजनिक सम्पत्तिमा कुनै किसिमको खरिद–बिक्री हुन नसक्ने बताउँदै सांसदले आफ्नो राजनीतिक हैसियत र शक्तिको दुरुपयोग गरेको दाबी गरेका छन् । उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षणको लागि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएर शान्ति सुरक्षाको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी कडरियाले यस विषयमा सत्यतथ्य बुझ्न गुठी संस्थान र पूजारीसँग छलफल गरी प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।

जनकपुरधाम–१४ का स्थानीय युवा उदय कुमार यादवको नेतृत्वमा सोभित साह, विन्देश्वर यादव, महेन्द्र यादव, जागेश्वर यादव, राम सरोज यादव, ललिता यादव, जनकपुरधाम–१४ का पूर्व वडासदस्य उपेन्द्र कुमार साह, सरोज कुमार साह, विवेक कुमार यादव, राम शंकर साह, कैलाश झा, जोगी यादव, कपिलदेव महासेठ, बसन्त कुमार साह, दिपक पटेल, विशाल कुमार राय, राम कुमार चौधरी, देव महरा, राम उदित महतो,मनिर राइनलगायतका व्यक्तिहरुले प्रमुख जिल्ला अधिकारी कडरियालाई संयूक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यसअघि, स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन दिएका थिए । स्थानीयले पुनः विरोधका साथ कानुनी कदम चालेका हुन् । स्थानीय बासिन्दाहरूले उक्त जग्गामा निर्माण कार्य रोकिनुपर्ने र सार्वजनिक सम्पत्तिमा कसैको व्यक्तिगत स्वार्थले काम गर्न नपाउने बताएका छन् ।

विरोधकाबीच निर्माण कार्य धमाधम जारी
स्थानीयको विरोधका बावजुद पनि सांसद यादवका छोरा अमित यादवले मन्दिरको जग्गामा निर्माण कार्य जारी राखेका छन् । सो जग्गामा कामदार खटाएर २४सौं घण्टा धमाधम निर्माण कार्य जारी रहेको देखिएको छ ।
सार्वजनिक सम्पत्तिमा भएको बलजफ्ती रोक्न कानुनी प्रक्रिया अघि बढाउनुपर्ने र शान्ति सुरक्षा कायम गर्दै सम्पत्ति संरक्षण गर्नुपर्ने स्थानीयको माग छ ।


यो पनि पढनुहोस्
वार्षिक ४० किलो धान मनखपमा करोडौंको जग्गा सांसद यादवको कब्जामा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


