जनकपुरधाम, १० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई सार्वजनिक अभिव्यक्तिबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रदेश कार्यालयले मंगलबार जारी गरेको पत्रमा यादवले पार्टीका विभिन्न कार्यक्रममा व्यक्त गरेका भनाइ समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको तथा सोही विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विज्ञप्ति जारी गरेको उल्लेख छ ।

राजनीतिक दलका नेता तथा जिम्मेवार व्यक्तिले सार्वजनिक रूपमा व्यक्त गर्ने विचार, टिप्पणी र आरोपले सम्बन्धित व्यक्ति तथा संस्थाको प्रतिष्ठा, पार्टीको छवि र सार्वजनिक बहसमा प्रभाव पार्ने भएकाले अभिव्यक्ति तथ्य, प्रमाण र जिम्मेवारीमा आधारित हुनुपर्ने प्रदेश समितिको भनाइ छ ।

प्रदेश कार्यालयले यादवसँग पाँचवटा विषयमा स्पष्टीकरण मागेको छ । सार्वजनिक भएको भिडियोमा देखिएको अभिव्यक्ति आफ्नै भए–नभएको, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखलाई लक्षित गरी लगाइएका आरोपको आधार तथा त्यसलाई पुष्टि गर्ने प्रमाणबारे स्पष्ट पार्न भनिएको छ ।

त्यसैगरी, परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि दिएको निवेदनसँग सम्बन्धित घटनाबारे र सो प्रकरणमा पदको दुरुपयोग गरी प्रहरीमाथि दबाब दिएको भन्ने प्रहरीको दाबीप्रति आफ्नो धारणा पेस गर्न पत्रमा भनिएको छ ।

प्रहरी कार्यालय घेराउ गर्ने, धम्की दिने वा अनुचित दबाब सिर्जना गर्ने आशयको अभिव्यक्ति दिएको भए त्यसको उद्देश्य र आधारसमेत स्पष्ट पार्न निर्देशन दिइएको छ ।

साथै, यादवको सार्वजनिक अभिव्यक्ति पार्टीको विधान, अनुशासन, आचारसंहिता र जिम्मेवार राजनीतिक व्यवहारसँग सम्बन्धित विषयमा पनि स्पष्टीकरण मागिएको छ ।

प्रदेश समितिले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट, तथ्यपरक र प्रमाणमा आधारित लिखित जवाफ पेस गर्न भनेको छ ।

तोकिएको अवधिमा स्पष्टीकरण नदिएमा वा जवाफ चित्तबुझ्दो नभएमा पार्टीको विधान, आचारसंहिता तथा सम्बन्धित कार्यविधिअनुसार थप निर्णय प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

यसका अतिरिक्त, जिल्ला सभापतिको पदीय जिम्मेवारी निलम्बित रहेको अवस्थामा पार्टीको प्रतिनिधित्व गर्ने, पार्टीका भेला तथा बैठकमा सहभागी हुने र जिल्ला पार्टी कार्यालय नियन्त्रणमा लिएर प्रयोग गर्ने गतिविधि नगर्न यादवलाई निर्देशन दिइएको छ ।

जिल्ला पार्टी कार्यालयको साँचो प्रदेश सभापतिमार्फत धनुषाका कार्यवाहक सभापतिलाई तीन दिनभित्र हस्तान्तरण गर्नसमेत पत्रमा भनिएको छ ।

मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ रास्वपाको केन्द्रीय सचिवालय, केन्द्रीय संगठन विभाग र केन्द्रीय अनुशासन आयोगलाई पठाइएको छ ।