जनकपुरधाम, २४ चैत । मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले सरोकारवाला सबै निकायको आँखामा छारो हाल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा अवैध घर निर्माण अझै जारी राखेका छन् । यस विषयमा स्थानीयले विरोध गर्दै विभिन्न निकायमा उजुरी दिएपनि हालसम्म उक्त निर्माण कार्य रोक्न कुनै ठोस कदम उठाइएको छैन ।

सांसद यादवका छोरा डा. अमित यादवले मन्दिरको सार्वजनिक जग्गामा २४ घण्टा कामदार खटाएर लगातार घर निर्माण कार्य गरिरहेका छन् । स्थानीयका अनुसार मन्दिरको सार्वजनिक सम्पत्तिलाई निजी स्वार्थमा प्रयोग गर्ने प्रयास भएको हो । स्थानीयको विरोधका बावजुद काम रोकिएको छैन ।

यो विवाद २०६८ सालमा प्रारम्भ भएको थियो । विहारकुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले मन्दिरको नाममा रहेको जग्गा सांसद यादवलाई २२ लाख रुपैयाँमा बेचेका थिए । पूजारी दासले उक्त जग्गा वार्षिक ४० किलो धान बुझाउने शर्तमा सांसद यादवलाई बेचेको स्वीकार गरे पनि स्थानीयहरूले यसलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग मान्दै त्यसको विरोध गरेका छन् ।

स्थानीयका अनुसार मन्दिरको सार्वजनिक जग्गा भनेको समुदायको साझा सम्पत्ति हो । त्यसलाई कुनै पनि हालतमा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नदिने अडान राखेका छन् । यसलाई निजी स्वार्थमा प्रयोग गर्ने प्रयास गर्दै सांसद यादवले राजनीतिक हैसियत र शक्तिको दुरुपयोग गरेको आरोप स्थानीयले लगाए ।

स्थानीयको विरोधका बावजुद सांसद यादवका छोरा अमितले मन्दिरको सार्वजनिक जग्गामा धमाधम घर निर्माण कार्य जारी राखेका छन् । स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, धनुषाका प्रमुख जिल्ला अधिकारी र अन्य निकायसँग बारम्बार ध्यानाकर्षण गरेका छन् । तर, कुनै सुनुवाई नभएको उनीहरूको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले भने, ‘निवेदन दुवै पक्षबाट आएको छ । मैले एसपीलाई दुवै पक्षलाई बोलाएर समाधान निकाल्न भनेको छु ।’ उनले गुठी संस्थान जनकपुरका प्रमुख आनन्द कर्माचार्यको भनाइ उद्धृत गर्दै भने, ‘गुठीको जग्गामा स्थायी संरचना बनाउन पाइँदैन । यदि कुनै अनियमितता भए हामी त्यसको जाँच गरी अगाडि बढ्नेछौं ।’

प्रजिअ कडरियाले सञ्चारकर्मीलाई यसो भनिरहँदा उनको लामो समयसम्मको मौनताले भने अर्कै कुराको संकेत दिइरहेको स्थानीय युवा दिपक पटेलको भनाइ छ । उनले यस कार्यमा स्थानीय प्रशासनले मौन समर्थन गरिरहेको आरोप लगाए ।

यता, सांसद यादवले भने मन्दिरको जग्गा वैधानिक रूपमा किनिएको र स्थानीयले यसलाई विवादास्पद बनाउने प्रयास गरिरहेको बताए । । उनले पूजारी रामसागर दासको कागजातको आधारमा उक्त जग्गा कानूनी रूपमा आफूलाई बेचेको दाबी गरेका छन् ।

गुठी संस्थान जनकपुरका प्रमुख आनन्द कर्माचार्यले गुठीको जग्गामा स्थायी संरचना बनाउन कानूनी रूपले अनुमति छैन भने । उनले भने, ‘निजी गुठीकै जग्गामा स्थायी संरचना बनाउन पाइँदैन । यदि यस किसिमको अतिक्रमण भएको छ भने हामी त्यसमाथि कारवाही गर्नेछौं ।’

स्थानीय बासिन्दाले सांसद यादवका छोरा डा. अमित यादवको अवैध घर निर्माण कार्य रोक्न उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गर्ने योजना बनाएका छन् । यसमा अदालतको मार्गदर्शन र प्रशासनको पहलको अपेक्षामा रहेका छन् ।

जनकपुरधामको प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा सांसद जंगीलाल यादवको अवैध घर निर्माणले स्थानीय समुदायमा विरोध र असन्तोष पैदा गरेको छ । प्रशासन र अन्य सरोकारवालाहरूलाई यस मुद्दामा तदारुकता अपनाउन र अवैध निर्माण कार्यलाई रोक्न नयाँ कदम चाल्नुपर्ने अवस्था आइलागेको स्थानीयको भनाइ छ ।

तलका समाचारहरु पनि पढनुहोस्

वार्षिक ४० किलो धान मनखपमा करोडौंको जग्गा सांसद यादवको कब्जामा

सांसदको छोराद्वारा शक्तिको आडमा अवैध निर्माण कार्य जारी, स्थानीयद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्र

मन्दिरको जग्गामा सांसदको अवैध घर निर्माणमा ‘नो लगाम’