जनकपुरधाम, १० कार्तिक । धनुषाको शहीदनगर नगरपालिकामा लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–१ भगवन टोलकी करिब ४० वर्षीया प्रमिला देवी मण्डललाई आफ्नै घरमा गाँजा बिक्री वितरण गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले मण्डलको घरमा खानतलासी गर्दा २ किलो ४७० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

गाँजासहित नियन्त्रणमा लिइएकी मण्डलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन् ।