काठमाडौँ, १ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले आयोजना गरेको मधेस प्रदेशस्तरीय अन्तर्क्रिरया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको उनको भनाइ छ । अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको उनले बताए ।

पटक–पटक संघीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनले तर्क छ । नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले राजनीति गर्नेलाई कानुनको ज्ञान आवश्यक रहेको बताए । अर्का केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले मिटरब्याजसम्बन्धी कानुन सच्याउन माग गरे । सांसद रामकृष्ण यादवले कांग्रेस पार्टीमा विचलन आउन नदिन नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।

कांग्रेस मधेस प्रदेशका सभापति एवं प्रदेशसभा सदस्य कृष्ण यादवले मधेसलाई राज्यबाट उपेक्षित बनाउन नहुने धारणा राखे । एसोसिएसन अध्यक्ष सीताराम केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभासदस्य श्याम पटेल, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता विनोद शर्मा एवं सुधीर कर्णले राजनीतिक स्थायित्वका लागि दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको औँल्याए ।

सो कार्यक्रममा संविधानविद् काशीराज दाहालले मधेस प्रदेशका पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई स्थानीय तहमा कानुनी र वित्तीय सुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए ।