जनकपुरधाम, १० कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखामा ४३ युनिट मात्रै रगत मौज्दात रहेको छ ।

शाखाले सार्वजनिक गरेको मंगलबारको रक्त भण्डार विवरणअनुसार विभिन्न चार रक्त समूहको रगत मौज्दात रहेको हो ।

रेडक्रसका अनुसार हाल ए पोजेटिभ (A+) १७ युनिट, बी पोजेटिभ (B+) ३ युनिट, ओ पोजेटिभ (O+) २१ युनिट र एबी पोजेटिभ (AB+) २ युनिट रगत मौज्दात छ । यी चारवटै रक्त समूहको कुल मौज्दात ४३ युनिट रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउँदै स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन् ।

रगतको अभावका कारण उपचारमा समस्या नहोस् भन्नका लागि रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै महतोले रक्तदानले आपत्कालीन अवस्थामा रहेका बिरामी, दुर्घटनामा परेका व्यक्ति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने विषयमा जनचेतना फैलाउनुपर्ने बताए ।

रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले यसको आवश्यकता पूरा गर्न स्वयंसेवी रक्तदातामाथि निर्भर रहनुपर्ने अवस्था छ । त्यसैले रक्तदानसम्बन्धी भ्रम हटाउँदै युवासहित सबै स्वस्थ तथा योग्य व्यक्तिलाई रक्तदानका लागि प्रेरित गर्न आवश्यक रहेको रेडक्रसको भनाइ छ ।

रेडक्रस धनुषा शाखाले‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रक्तदानका लागि आह्वान गर्दै आएको छ ।

रक्तदान गर्न इच्छुक व्यक्तिले जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्त सञ्चार सेवामा ०४१-५२०८७० नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।