जनकपुरधाम, ०९ कार्तिक । राजर्षि जनक विश्वविद्यालयअन्तर्गत विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायले जनकपुरधाममा दुईदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

वैज्ञानिक अनुसन्धान, विज्ञान तथा प्रविधिको विकास र इन्जिनियरिङ क्षेत्रका नवीनतम उपलब्धिबारे छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनले स्वदेशी तथा विदेशी वैज्ञानिक, अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रका व्यक्तिबीच ज्ञान, अनुभव तथा अनुसन्धानका निष्कर्ष आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा भइरहेका नवीनतम विकासबारे विमर्श गर्दै अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

यसबाट विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान गतिविधिलाई थप प्रभावकारी बनाउनसमेत सहयोग पुग्नेछ ।

सम्मेलनको मिति, सहभागी वैज्ञानिकहरूको विवरण तथा प्रस्तुत गरिने अनुसन्धानपत्रलगायतका विषयमा भने थप जानकारी सार्वजनिक हुन बाँकी छ ।