नगराईनमा कांग्रेसको शुभकामना आदानप्रदान
जनकपुरधाम, ०६ कार्तिक । नेपाली कांग्रेस नगराईन नगर समितिको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी कांग्रेसका नेताहरूले पर्वको शुभकामना व्यक्त गर्दै पार्टी संगठन सुदृढीकरण र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
नगर समितिका सभापति छोटे मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभा सदस्य रामसरोज यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं नगराईन नगरपालिकाका प्रमुख विनयकुमार यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा प्रदेश सदस्य जीवनाथ चौधरी, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साह, युवा नेता कपिल यादव, राजीव चौधरीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सयौँ नेता तथा कार्यकर्ताहरू सहभागी भएका आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नगरवासी तथा पार्टीका नेता कार्यकर्ताहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
शुभकामना आदानप्रदानसँगै कार्यक्रमलाई पार्टीको सांगठनिक गतिविधि सुदृढ गर्ने अवसरका रूपमा समेत लिइएको थियो ।

नेताहरूले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठनलाई थप व्यवस्थित र बलियो बनाउन तथा निर्वाचनको तयारीमा सक्रियतापूर्वक जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




