लक्ष्मेश्वर यादवविरुद्ध कानुनी उपचारमा जाने एसपी खड्काको चेतावनी
जनकपुरधाम, १० कार्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हंसपुर नगरपालिका–८ भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले सार्वजनिक कार्यक्रममा आफू र प्रहरी संगठनमाथि लगाएका आरोपहरू तथ्यहीन, भ्रामक र द्वेषपूर्ण रहेको भन्दै एसपी खड्काले खण्डन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत एसपी खड्काले यादवले विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा तथा आफ्नो नामै लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।
उनले उक्त टिप्पणीलाई अपमानजनक र मनगढन्ते संज्ञा दिँदै त्यसको घोर निन्दा तथा भर्त्सना गरेका छन् ।
प्रहरीका अनुसार यादवले आफ्नी परिवारकी एक महिला सदस्य हराएको भन्दै गत भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
सो विषयमा अनुसन्धान गर्दा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट वैशाख ८ गते नै विवाहको नाता कायम भइसकेको र भदौ १४ गते आफ्नो पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले ती महिलासँग यादव तथा परिवारका अन्य सदस्यको प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाणसमेत देखाएर घटनाको वास्तविक अवस्थाबारे जानकारी गराइएको जनाएको छ ।
एसपी खड्काको आरोपअनुसार यादवले आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएका थिए । त्यसो नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोध साँध्ने उद्देश्यले आफूमाथि तथ्यहीन आरोप लगाइएको एसपी खड्काको दाबी छ ।
प्रहरी संगठन र आफ्नो व्यक्तिगत मर्यादामा आँच पुर्याउने गरी लगाइएका आरोपहरू पुष्टि गर्न चुनौती दिँदै खड्काले यस विषयमा प्रचलित कानुनबमोजिम कानुनी उपचार खोज्ने बताएका छन् ।
साथै, घटनाबारे भ्रममा नपर्न र सामाजिक सञ्जालमा तथ्य नबुझी सामग्री शेयर नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख खड्काले पूर्ण व्यवसायिकता, इमानदारी र निष्ठाका साथ नागरिकको सेवामा खटिरहेको उल्लेख गर्दै प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





