काठमाडौँ, ०५ कार्तिक । नेपालीहरूको प्रमुख चाड बडादशैँमा परिवारसँग बसेर खुसी साटासाट गर्ने, मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने र आफन्तसँग भेटघाट गर्ने परम्परा छ । तर, यही पर्वको उल्लासबीच पनि रोजगारी, अध्ययन र उज्ज्वल भविष्यको खोजीमा विदेशिने नेपाली युवायुवतीको क्रम रोकिएको छैन ।

दशैँका बेला घरपरिवारसँग बसेर चाड मनाउने चाहना हुँदाहुँदै पनि आर्थिक बाध्यता र भविष्यप्रतिको चिन्ताले धेरै युवालाई विदेशको बाटो रोज्न बाध्य बनाएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश प्रस्थान गर्ने यात्रुको चहलपहलले नेपाली समाजमा बढ्दो वैदेशिक निर्भरता र स्वदेशमै पर्याप्त अवसर सिर्जना हुन नसकेको अवस्थालाई उजागर गरेको छ ।

विमानस्थलबाट विभिन्न देशतर्फ प्रस्थान गर्ने नेपालीमध्ये ठूलो हिस्सा रोजगारीको खोजीमा रहेका युवायुवतीको छ । उच्च शिक्षा हासिल गर्न, विदेशमा रहेका परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि यात्रा गर्नेहरू पनि उत्तिकै देखिन्छन् । यद्यपि, आर्थिक अवस्था सुधार्ने र परिवारको भविष्य सुरक्षित बनाउने उद्देश्यले विदेश जानेहरूको बाध्यता विशेष रूपमा देखिन्छ ।

नेपाली समाजमा दशैँलाई पारिवारिक पुनर्मिलन र आत्मीयताको पर्वका रूपमा लिइन्छ । तर, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले धेरै परिवारको दशैँ अधुरो बन्ने गरेको छ । घरमा टीका लगाउने र परिवारसँग रमाउने उमेरका युवाहरू विमानस्थलबाट विदेशतर्फ प्रस्थान गरिरहेका छन् । उनीहरूका लागि चाडपर्वको खुसीभन्दा परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी प्राथमिकतामा परेको देखिन्छ ।

रोजगारीका लागि विदेश जान लागेका सिरहाका लखनकुमार यादव स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताउँछन् । योग्यता र क्षमताअनुसारको काम नेपालमै पाउने सुनिश्चितता भएको भए दशैँको समयमा परिवार छाडेर विदेश जानुपर्ने अवस्था नआउने उनको भनाइ छ ।

‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भएको भए दशैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन,’ यादवले भने, ‘आफ्नो र परिवारको भविष्य बनाउन विदेश जाँदैछु ।’

उनका अनुसार परिवारको दैनिक खर्च धान्न, बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा लगानी गर्न, आर्थिक अवस्था सुधार्न र भविष्यका लागि बचत गर्न वैदेशिक रोजगारी महत्त्वपूर्ण सहारा बनेको छ ।

गुल्मीका प्रकाश खत्री पनि स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा युवापुस्ता विदेशतर्फ आकर्षित भएको बताउँछन् । नेपालमा रोजगारीका अवसर सीमित हुनु, उपलब्ध काममा पर्याप्त पारिश्रमिक र सेवासुविधा नहुनु तथा विदेशमा आर्थिक उन्नति गर्न सकिने सम्भावनाले युवालाई विदेश जान प्रेरित गरेको उनको भनाइ छ ।

‘नेपालमा रोजगारीका अवसर पर्याप्त छैनन् । अवसर भए पनि सेवासुविधा न्यून हुने समस्या छ,’ खत्रीले भने, ‘विदेशमा आर्थिक तथा शैक्षिक अवस्था सुधार्न सकिने सम्भावना देखेर युवाहरू चाडपर्वमा परिवारसँग रमाउनुभन्दा भविष्य निर्माणलाई प्राथमिकता दिन बाध्य छन् ।’

छोरालाई विदेश पठाउन विमानस्थल पुगेका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्याउने भए पनि यसको दीर्घकालीन प्रभावप्रति चिन्ता व्यक्त गर्छन् । देशभित्र सक्रिय र उत्पादनशील जनशक्ति विदेशिँदै जाँदा भविष्यमा मुलुकले विभिन्न चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ ।

दक्ष, मेहनती र ऊर्जाशील युवाहरू विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन तथा अन्य उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने कलेलको चिन्ता छ । युवाशक्तिलाई स्वदेशमै रोजगारी र उद्यमका अवसर उपलब्ध गराउन नसकिए देशको उत्पादन क्षमता तथा आर्थिक विकासमा समेत असर पर्न सक्ने देखिन्छ ।

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपाली परिवारको जीवनस्तर सुधार्न, शिक्षा तथा स्वास्थ्यमा खर्च गर्न र देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान दिँदै आएको छ । तर, त्यसकै भरमा अर्थतन्त्र निर्भर रहँदा स्वदेशमा उत्पादन, उद्योग र रोजगारी सिर्जना गर्ने प्रयास कमजोर हुने जोखिम पनि रहन्छ ।

दशैँका बेला विदेशिने युवाको दृश्य व्यक्तिगत रोजगारीको खोजी मात्र नभई स्वदेशमा अवसर सिर्जना गर्ने राज्यको क्षमतासँग जोडिएको सामाजिक तथा आर्थिक प्रश्न पनि हो । युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी, उचित पारिश्रमिक र भविष्यप्रतिको भरोसा पाउन सके परिवारबाट टाढा रहेर चाडपर्व मनाउनुपर्ने बाध्यता कम हुन सक्छ ।