काठमाडौँ, १८ जेठ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले दीर्घकालीन परिणाम र प्रतिफल दिने खालको नरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा कार्यक्रममा उनले सो कुरा बताएका हुन् । महतले वैदेशिक ऋणको प्रस्तावित ऋण कार्यान्वयन गर्न पनि कठिन रहेको बताए ।

‘अहिले चित्त बुझाउने मात्र होइन नि दीर्घकालीन परिणाम र प्रतिफल नआउने लगानी गर्ने छुट हामीलाई छैन । किनकी हामी ऋण लिएर लगानी गर्दैछौँ । ऋणको साँवा–ब्याज तिरेर पनि केही थप गर्ने लक्ष्य राख्नुपर्‍यो नि । त्यो नराखी ऋणमा निर्भरता गर्ने भनेको अत्यन्तै गलत नीति हो,’ महतले भने, ‘जुन मात्रामा बढाइएको छ यो ठिक होइन । वैदेशिक ऋणको हकमा प्रस्तावित ऋण पनि कार्यान्वयन क्षमता कठिन छ । यसले गर्दा बजेटले राखेको प्रस्ताव कार्यान्वयन नहुने अवस्था आउँछ ।’

उनले ८९ अर्ब आन्तरिक ऋण यस बर्ष प्रस्तावित गरेको भनेर बढाएको भन्दै यसले निजी क्षेत्रले प्राप्त गर्ने ऋणमा दबाब पर्ने बताए । महतले सरकारले ऋण लिएर वितरण गर्ने नीति लडाकुलाई भरणपोषण गर्ने र सीमित साधनस्रोतको ठूलो दुरुपयोग गर्ने मनसायले लिएको आरोप पनि लगाए ।