काठमाडौँ, १२ जेठ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्दैछ । त्यसका लागि पार्टीले जेठ १५ गते काठमाडौँको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना गर्ने भएको हो ।

कार्यक्रमका लागि जनमत पार्टीका अध्यक्ष राउतले देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेपाल आउन आह्वान गरेका छन् । पार्टीले कार्यक्रमको बारेमा सबैभन्दा बढी प्रचार काठमाडौँ उपत्यकामा गरिरहेको छ । यसका लागि अध्यक्ष राउत आफैँ पनि खटिएका थिए ।

बढीभन्दा बढी मान्छे काठमाडौँ उपत्यकाकै होस् भन्ने उनको लक्ष्य रहेको छ । प्रचार प्रसारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई उनले परिचालन उनले गरेका छन् ।

यद्यपि, उपत्यकाबाट मात्र नपुग्ने भएपछि बाहिरी जिल्लाबाट पनि नेता तथा कार्यकर्तालाई काठमाडौँ उतार्ने तयारी भइरहेको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशबाट आउनेछन् ।

एउटा पालिकाबाट कम्तीमा एउटा बस अनिवार्य गरिएको छ । यसका लागि पार्टीले तल्लो कमिटीलाई निर्देशन दिएको छ ।