काठमाडौँ, ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कान्तिपुर मिडिया सञ्चालक कैलाश सिरोहिया पक्राउ पर्न लागेपछि कांग्रेस सांसदहरू ‘हमदर्दी’ प्रकट गर्न उनको कार्यालयमा पुगेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले सोधेको ‘कांग्रेस र कान्तिपुर’ एउटै हो भन्ने प्रश्नमा सिरोहियाले अप्ठेरो परेको बेलामा दुःख साट्न गएको जवाफ दिए ।

उनले सहकारी ठगीको श्रृङ्खलाबद्ध समाचार आएपछि बदलाको भावले सिरोहियालाई पक्राउ गरिएको दाबी गरे । उनले घुमाउरो रुपमा संसद्का महासचिवको ३ वटा नागरिकता रहेको प्रमाण भए पनि उनलाई पक्राउ गरिएको छ भन्दै प्रश्न गरे ।

शर्माले भने, ‘यो संसद्मा सभामुखको छेउमा अगलबगलमा बस्ने, मैले नाम बिर्से अहिले । उच्च ओहोदाका व्यक्तिको दुई वटा नागरिकताको कुरा आएको छ कि छैन, गिरफ्तार हुनुभएको छ ? अहिले संसद्मा हुनुहुन्थ्यो ? गृहमन्त्रीकै पनि दुई वटा पासपोर्टको कुरा छ । गिरफ्तार नै नभई पनि अनुसन्धानमा सहयोग लिन सकिन्छ ।’

उनले मिडियाले खरो ढंगले प्रश्न गर्ने कुरामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । गत जेठ ११ गते सिरोहियालाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा सिरोहियालाई भेट्न पुगेका थिए ।