टीओआरमा सहमति जुटाउन बसेको बैठकमा सहमतिमा पुग्न सकेन

काठमाडौँ, १० जेठ । सहकारीको वचत अपचलनका विषयमा गठन गर्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन बसेको कार्यदलको बैठक बिहीबार पनि सहमतिमा पुग्न सकेन । अब अर्को बैठक शुक्रबार साढे ८ बजे बस्ने गरी टुंगिएको छ ।
कार्यदलमा रहेका एमाले सांसद महेश बर्तौलाका अनुसार छलफल सकारात्मक भएको छ, शुक्रवार सहमति हुने सम्भावना पनि छ । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी सहमति जुटाउने छलफल भइरहेको उनको भनाइ छ ।
‘सम्बन्धित सहकारीमा छानबिन गरौं, दोषी को हो, गैरकानुनी काम भएका छन् कि छैनन् हेरौं’, उनले भने, ‘रवि लामिछानेको नामबाट छानबिन गरौं भन्दा तिमी दोषी हौ भनेजस्तो हुन्छ, त्यसैले नाम नलेखौं भन्ने हाम्रो कुरा हो ।’
यो विषयमा कांग्रेस लचक भएको र शीर्ष नेताहरुसँग छलफल गरेर शुक्रबार पुनः छलफल गर्ने सहमति भएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


