काठमाडौँ, २१ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकारले नवप्रवर्द्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै गुनासो गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट १ सय ४ वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण पनि दिएको भन्दै बजेटको लागि हारगुहार गर्दा पनि निकासा हुन नसकेको बताए ।

‘सरकारले नव प्रवर्द्धन कार्यक्रममा भनेर ८८ करोड बजेट छुट्याएको थियो । त्यसमा हामीले १ सय ४ वटा पालिकालाई विभिन्न मापदण्डबाट छनोट गरेको थियौँ । उहाँहरूलाई अभिमुखीकरण पनि दियौँ । ८८ करोड रुपैयाँ मध्य अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । धेरै हारगुहार ग¥यौं अर्थमन्त्रालय नाई पनि भन्दैन, दिन पनि दिँदैन । साउनमा पछि निकासा सदनुपर्ने बजेट अहिलेसम्म दिएको छैन । सफल भएको छैन,’ जोशीले भने ।

उनले संघीय निजामती सेवा ऐन देशभरी नै सुशासन कायम गर्ने विधेयक भएकाले चाँडो पास गर्नुपर्ने बताए । देशव्यापीरूपमा कर्मचारीको व्यवस्थापन असाध्यै अप्ठ्यारो भएको भन्दै विधेयकलाई राजनीतिकरूपमा सहमति गरेर आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर छलफल गरी पारित गर्नुपर्ने बताए ।

‘संघीय निजामती सेवा ऐन शंसोधन त परिसक्यो अब त्यो समितिमा आउन बाँकी छ । यो विधेयक अलि महत्वपूर्ण नै छ । अहिले देशभरी नै सुशासन कायम गर्ने यो विधेयकलाई चाँडो पास गर्नुपर्ने छ । अहिले जति पनि कर्मचारीको समस्या आउँछन् । कानुनअन्तर्गत त्यसको समाधान गर्ने उपाए छैन । देशव्यापीरूपमा कर्मचारीहरूको व्यवस्थापन यति अप्ठ्यारो छ । त्यसैले यो विधेयकलाई राजनीतिक रुपमा सहमति गर्नुपर्ने छ । आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर पारित गर्नुपर्छ,’ मन्त्री जोशीले भने ।