काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताएका छन् ।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको बुधवार अनावरण गर्दै सहिदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरूको सबैले सम्मान गर्नुपर्ने बताए ।

अपराधीको जति नै निन्दा गरे पनि नपुग्ने उल्लेख गर्दै सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुर्याएको योगदानको चर्चा गरे ।

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सार्नुभएका चाहना र आङ्काक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरे ।