गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै राप्रपा आन्दोलनमा

काठमाडौँ, चैत २७ । सडक आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । राप्रपा राजसंस्था र हिन्दूराज्य पुनस्थापनासहित ४० बुँदे माग राखेर मंगलबार आन्दोलनमा उत्रिएको छ ।
सो आन्दोलनमा आफूहरुमाथि दमन गरेको भन्दै राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो । प्रदर्शनपछि आयोजित कोणसभामा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलवारबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजाने बताए ।
मंगलवारको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध गर्दै उनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौँ । आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’
भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहित नेता कार्यकर्ता पक्राउ परेका छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी काण्डमा संलग्न रहेको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ । लामिछानेको ठगी आरोपबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ । सदनमा कांग्रेस र सडकमा राप्रपाको दबाब थेग्न गृहमन्त्री कति सक्षम होलान्, त्यो आगामी दिनमा देखिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


