काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसले प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार प्रदेशका सभापति र संसदीय दल नेतासहित बैठक राखेर कांग्रेसले सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको हो ।

पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा प्रदेश सभापति, दलको नेता र मुख्यमन्त्रीहरू सहभागी थिए । बैठकपछि नेता अर्जुननरसिंह केसीले प्रदेशहरूमा थप दलका सहयोग जुटाएर पार्टी नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे कुराकानी भएको बताए ।

उनले भने, ‘विभिन्न प्रदेशमा जति दललाई समेट्न सकिन्छ, समेटेर नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सकिन्छ भन्ने कुरामा गम्भीरता पूर्वक छलफल भएको छ । केन्द्रीय तहमा एउटा टिम बनाएर लाग्छ ।’

संसदभित्र र बाहिर कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गरेर जनस्तरमा आफूलाई सशक्त र जीवन्त बनाउन विषयमा छलफल भएको केसीले बताए ।

सहमहामन्त्री जीवन परियारले छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेको बताए ।

‘प्रदेशहरूमा जुन—जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ,’ उनले भने, ‘यसमा केन्द्रले पनि सहयोग गर्नेछ । सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ ।’

यस्तै कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले दलहरू अहिले मध्यावधि गर्ने पक्षमा नदेखिएकोले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे कुराकानी गरिएको बताए ।

प्रदेशमा सरकार बनाउने प्रदेश कार्यसमितिले पहल गर्ने र आवश्यक परे केन्द्रको राय लिने निर्णय भएको गण्डकी प्रदेश सभापति शर्माले बताए । कांग्रेस नेतृत्वमा अहिले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सरकार छ ।

नयाँ समीकरणअनुसार प्रदेशमा स्वतः एमाले, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुने देखिएको छ ।

समीकरणअनुसार चार दलको गठबन्धन हुँदा कोशी, मधेस र कर्णाली प्रदेशमा मात्रै बहुमत देखिन्छ । तर, कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार बनेको कांग्रेस नेतृत्वको सरकार हटाएर अर्को सरकार बनाउन चुनौती देखिन्छ ।

यस्तै बागमतीमा बहुमतका लागि गठबन्धनलाई १ सांसद नपुग्ने देखिएको छ भने सुदूरपश्चिममा ३, लुम्बिनीमा २ र गण्डकी प्रदेशमा १ सांसद पुगेको छैन । यसलाई मध्यनजर गर्दै कांग्रेसले प्रदेश आफ्ना सरकारको निरन्तरताका लागि पार्टीभित्र छलफल थालेको छ ।