काठमाडौँ, २३ फागुन । निःवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताएका छन् ।

बुधबार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरूलाई न्याय दिनको निम्ति सकारात्मक भूमिका खेलेको बताए ।

उनले आयोग र कानुन बनाउँदै सरकार अगाडी बढेको भन्दै पछि सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडी बढाइएको बताए । उनले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताए । उनले यो कामलाई फत्ते गर्नै पर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत पनि गराए । उनले पीडितलाई न्याय दिने काम निरन्तर रूपमा अगाडी बढाउनुपर्ने बताए ।

उनले भने, ‘म के भन्छु भने, एउटा मन्त्री गएर अर्को मन्त्री आउँदा खेरी यो प्रक्रिया कमजोर नहोस् । राज्यको अभिभारा हो पीडितलाई न्याय दिने काम । हामीले त्यसको निम्ति कतिपय प्रमुख जिल्ला अधिकारीहरूलाई तपाईँहरूको मिटरब्याजी सम्बन्धी काम राम्रो भएन भनेर सरुवा गरेका छौँ । कतिपय प्रहरी अधिकारीलाई सरुवा गरेका छौँ । हामीले दिनदिनै जस्तो ताकेता गरेका छौँ । हामीले यो कामलाई फत्ते गर्नै पर्छ । यो कामलाई निरन्तर रूपमा अगाडी बढाउन सकिनेछ ।’

मन्त्री श्रेष्ठले संघीयता र प्रहरी समायोजन नगर्ने कुरा साथसाथै जान नसक्ने भन्दै प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए ।