रास्वपाका सभापति लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रास्वपा सभापति लामिछानेविरुद्ध उजुरी परेको हो ।
लामिछाने ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा मुछिएको र त्यसको छानबिन गर्न माग गर्दै युवराज पौडेल ‘सफल’ले उजुरी दिएका हुन् ।
लामिछाने ग्यालेक्सी फोर के टेलिभिजनको सञ्चालक हुँदा सहकारीको ५२ करोड रुपैयाँ लगानी भएको उजुरीकर्ताको दाबी छ । यसबारे छानबिनको माग गर्दै सफलले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सभामुख देवराज घिमिरेलाई उजुरी दिएका हुन् ।
उजुरीमा भनिएको छ, ‘रवि लामिछानेको १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको सेयर खरिद बिक्रीको कागज समेत सार्वजनिक भएको छ । ‘अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो ? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएको छ ।’