माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार १ सय ५१ सदस्यीय बनाउने

काठमाडौँ, २६ पौष । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ ।
माओवादीमा अहिले सात सयभन्दा धेरै केन्द्रीय सदस्यहरू छन् । गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी घटाएर दुई अंकको बनाउने बताएका थिए ।
पार्टीको विधान मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार घटाउने प्रस्ताव गरेको हो । उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्ताव गरेको हो ।
शनिबारदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने विधान मस्यौदा समितिले जानकारी दिएको छ । यस्तै, समितिले प्रदेश, जिल्ला, पालिका र वडा समितिहरूलाई कार्यकारिणी बनाउने प्रस्ताव गरेको छ।
केन्द्रीय विभागहरू घटाउने र एउटा विभागमा बढीमा १५ जना सदस्य राख्ने सहमति विधान मस्यौदा समितिले गरेको हो । बैठकमा पदाधिकारी र पार्टीले सरकारमा पठाउने मन्त्रीहरूको कार्यकाल दुईभन्दा बढी बनाउन नहुने विषयमा छलफल भए पनि उक्त विषय मस्यौदामा राखिएको छैन ।
माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनअघि पार्टीले तयार पारेको विधान मस्यौदाबारे देशव्यापी छलफल गर्ने उक्त पार्टीले जनाएको छ ।