सुशासन समितिले बालकुमारी घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई बैठकमा बोलाउने

काठमाडौँ, १४ पुष । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बालकुमारीमा भएको घटनाबारे जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बैठकमा बोलाउने भएको छ । साथै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पनि बैठकमा बोलाउने भएको हो ।
आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार बिहान साढे ८ बजे बैठक राखिएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रातोपाटीलाई जानकारी दिए । उनले भने‘बालकुमारीमा दुई युवाको ज्यान जाने गरी गम्भीर किसिमको घटना भएको छ । त्यसबारे छलफलका लागि गृहमन्त्रीलाई फोन गरेको छु, दुवै प्रहरी संगठनका प्रमुखलाई पनि बैठकमा बोलाएको छु ।’
शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


