काठमाडौं, पुस ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा पुगेको बताएकी छिन् । पदभार ग्रहण गरेपछि पहिलो पटक बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा देवीले उक्त जानकारी दिएकी हुन् ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन जहिल्यै भद्रगोलको अवस्था सिर्जना भएपछि मन्त्रालयले मापदण्ड तयार गर्न लागेको हो । उनले गत साउन २९ मा साहले मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनले यस अवधिमा हासिल गरेका मुख्य उपलब्धिबारे पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन् ।

उनले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, प्रशासनिक पुनर्संरचना तथा मानव संसाधनको समयानुकूल विकास तथा परिचालन नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य जिम्मेवारी रहेको उल्लेख गरेकी छिन् । उनले सार्वजनिक गरेको उपलब्धिलाई पाँचवटा विषय विभाजन गरेकी छिन् । जसमा ऐन नियम निर्माण तथा परिमार्जन, सङ्घीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवा प्रवाह, वार्षिक कार्यक्रम कार्यान्वयन र पूर्वाधार विकास सहजीकरण विषय छन् ।

ऐन निर्माणतर्फ निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता भएको जानकारी देवीले दिइन् । उनले सङ्घीय निजामती सेवा ऐन सम्बन्धी विधेयकको मस्यौदा उपर लोकसेवा आयोगको रायसहित नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई सङ्घीय संसदमा विधेयक पेश गर्ने अवस्थामा रहेको बताइन् ।