दुई चारजना मानिस सडकमा आउँदैमा केही फरक पर्दैन : मन्त्री शर्मा

काठमाडौँ, मंसिर १० गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई चारजना मानिस सडकमा आउँदैमा केही फरक नपर्ने बताएकी छिन् । राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गरिने उनले चेतावनी दिइन् ।
हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आउँदा त बल्लतल्ल गणतन्त्र आएको स्मरण गर्दै उनले दुई चार जना मानिस सडकमा आएर फरक नपर्ने बताइन् ।
उनले भनिन्, ‘हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आएका थिए । त्यतिहुँदा त बल्लतल्ल गणतन्त्र स्थापित भयो भने दुई चारजना मानिस सडकमा आउँदैमा केही फरक पर्दैन । राज्य सञ्चालनमा केही कमीकमजोरी भएपनि सुल्टो बाटोमा त्यसको असर पर्न सक्थ्यो वा जनता सडकमा आउने वातावरण बन्थ्यो होला । तर राजतन्त्र नभोगेका युवाहरूलाई सडक आन्दोलनले केही प्रभाव पार्ला तर शाही काल भोगेका मानिस कन्भिन्स हुने अवस्था छैन ।’
यस्तै गणतन्त्र र राजतन्त्रको भेदबारे विद्यालयको पाठ्यपुस्तकमा समेट्न नसक्दा पनि समस्या देखिएको उनको बुझाइ छ । उनले भनिन् ‘हिजो हामीले एक कक्षादेखि नै राजाको महिमा पढ्दै आयौं तर व्यवस्था उल्टिएपछि विद्यालयको पाठ्यपुस्तकमा लिपिवद्ध गर्न सकेनौं । पाठ्यपुस्तक परिमार्जनबारे छलफल गरिरहेका छौँ । अबको पाठ्यपुस्तकमा इतिहास र प्रविधिसम्बन्धी यथेष्ट जानकारीसहित पाठ्यपुस्तक परिमार्जन गर्छौँ ।’
पाठ्यपुस्तकमा प्रविधिबारे राम्रोसँग समेट्न नसक्दा एकैपटक सामाजिक सञ्जाल बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनले सुनाइन् । कक्षा एकदेखि नै प्रविधिलाई सही सदुपयोग गर्नेबारे विद्यार्थीहरूलाई शिक्षा दिन सकेको भए बन्द गर्नुपर्ने अवस्था नआउने उनको बुझाइ छ । अब प्रविधिको विषयमा सामान्य सेमिनार गोष्ठी गरेरमात्र नहुने उनले तर्क गरिन् ।
यसैगरी सडकमा देखिएको पछिल्लो अवस्थाबारे सरकारले निकै गम्भीरतापूर्वक हेरेको उनले बताइन् । एउटाले समस्या पैदा गर्दा अहिले सबैले भारी बोक्ने स्थिति आएको भन्दै मूलत आफूहरूमा भएको कमीकमजोरी करेक्सन गरेर जनतालाई सेवा र सुविधा दिनुपर्ने उनको भनाइ छ । मुख्य समस्या भएको भन्दा बढी भ्रम छर्ने काम भइरहेको उनले गुनासो पोखिन् ।
‘राज्य सञ्चालनमा बसेकाबाट कमजोरी नभएका होइन, तथापि धेरै सकारात्मक काम पनि भएका छन् । त्यसमा चिरफार गरेर व्यवस्था र व्यवस्था सञ्चालनमा भएका कमजोरी खुट्याउनु पर्छ’, उनले भनिन्, ‘सञ्चालनमा बसेका रिप्लेस हुनसक्छ तर व्यवस्था रिप्लेस हुन सक्दैन । यही व्यवस्था भएर नै आज राज्यसञ्चालनमा बसेकामाथि कारबाही भएको हो । आजकाले कमजोरी गरे भोलि कारबाही हुन्छ ।’
व्यवस्थामाथि संकट आएको अवस्थामा राज्य, सरकार, नागरिक समाज र मिडिया सबै एक ठाउँमा आउने उनले विश्वास लिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


