काठमाडौँ, मंसिर १० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक व्यवस्थाविना हिंसा अन्त्य गर्न नसकिने बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्था र कानुनी व्यवस्थाविना हिंसा अन्त्य गर्न नसकिने बताएका हुन् ।

महतले भने, ‘यही कारण हामीले लोकतन्त्र स्थापनाको आन्दोलनलाई उच्च महत्व दियौँ । त्यो नभईकन कुनै पनि कमजोर वर्ग, समूह, क्षेत्रको विरुद्ध हिंसा कम गर्न सक्दैनौँ । महिला विरुद्धको हिंसा पनि कम गर्न सक्दैनौँ ।’

अधिकार, लोकतन्त्र, रोजाइको अधिकार, कतै शोषण भयो भने त्यसलाई कानुनले निषेध गर्ने, सजाय सुनिश्चित गर्ने भन्दै उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिले महिला विरुद्धको हिंसा कम गर्न नसक्ने बताए ।

महतले भने, ‘लोकतान्त्रिक व्यवस्थामा मात्रै कमजोरमाथि हुने हिंसा कम हुन्छ ।’ महिला हिंसा समाप्त पार्न गैरसरकारी तहमा विभिन्न संघ संस्थाहरु लागिरहेको भन्दै मन्त्री महतले यसमा उनीहरुको ठूलो भूमिका हुने उल्लेख गरे ।

महतले भने, ‘महिला माथिको हिंसालाई शारीरिक रुपमा र स्रोतको रुपमा जो बलियो छन्, उनीहरुले गर्ने हिंसा भन्ने बुझेको छु । त्यसकारण हामीले स्रोतका हिसाबले सम्पन्न गर्नुपर्यो र शारीरिक कमजोरीको फाइदा उठाएर हुने हिंसालाई कानुनले रोक्ने परिवेश निर्माण गर्नुपर्छ ।’

अधिकारको आन्दोलन, लोकतन्त्रको आन्दोलन, अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन आफ्नो क्षमता, योग्यताअनुसार पेसा व्यवसाय, रोज्न पाउने आन्दोलन समग्रमा लोकतन्त्रसँग जोडिएको उनको भनाइ छ ।

महिलाको छुट्टै संगठन, सहभागिता, आवश्यकतालाई सम्बोधन गर्ने किसिमको बजेटको व्यवस्था रहेको भन्दै मन्त्री महतले तर त्यसका केही सीमाहरु रहेको बताए ।

‘हामीले ज्येष्ठ नागरिक, दलितलगायत सीमान्तकृत क्षेत्रलाई हेरेर विभिन्न अनुदानहरु प्रदान गरेका छौँ, यो सबैलाई बजेट छुट्याउँदा सबै गर्दा हामी दबाबमा छौँ’ उनले भने, ‘हामी दबाबमा भए पनि यसमा काम गर्नेछौँ ।’