काठमाडौँँ, ६ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।

चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गइरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘राहत वितरणलाई राजनीतिक प्रचारवाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ । क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढंगले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ,’ गौतमले भने, ‘पीडितहरूको पुनःस्थापनाका लागि ठोस कार्ययोजनासहित अविलम्ब काम थाल्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ ।’

त्यसैगरी, एमालेले इजरायल–प्यालेस्टाईन दुवै पक्षलाई तत्काल युद्ध बिराम गरी बन्धन बनाइएकालाई अविलम्ब रिहा गर्न पनि अपिल गरेको छ । अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताए ।

एमाले बैठकले पार्टीका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।