काठमाडौँ, ५ मङ्सिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताए ।

उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जंगलका रूपमा स्थापित गरिरहेको बताए ।

अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनसमेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शंका नराख्न आग्रह गरे ।

मन्त्री महतले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्वन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए । उनले विकसित देशले उत्सर्जन गरेको कार्वनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताए ।

उनले नेपालका हिमालको हिउँ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले भएको भन्दै विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीनकरण गर्नको लागि आर्थिक सहयोग गर्नुपर्ने बताए ।

मन्त्री महतले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरूबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्ने भन्दा पनि कार्यक्रम ल्याउन आग्रह गरे ।

उनले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताए ।