काठमाडौं, २९ असोज । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले बडादशैँ २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन् ।

नेपाली सेनाले असोज ३१ गते शान्ति र समृद्धिको कामनासहित आयोजना गर्न लागेको फूलपाती बढाई समारोहको तयारीबारे प्रधान सेनापति सिग्देलले बिहीबार अन्तिम निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि प्रधान सेनापति सिग्देलले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित पेसागत प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने फर्मेसन तथा युनिटहरूलाई पुरस्कार र कदरपत्र प्रदान गरे ।

त्यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित गरे ।

यसै अवसरमा मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति भएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सैनिकहरूलाई प्रकृति संरक्षण पदकसमेत प्रदान गरिएको थियो ।

अन्तिम निरीक्षण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सकलदर्जा, उनीहरूका परिवारजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।