काठमाडौ, २० असोज । नाबालिग किशोरीको बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी बिहान १० बजे काठमाडौं उत्रने बताइएको थियो । तर, तालिकाअनुसारको कतार एअरको विमान ढिलो ल्याण्ड भएको हो ।काठमाडौंमा भिजिविलिटिको कमीले उनी सवार जहाज लामो समयसम्म आकाशमा घुमेको थियो ।

केही दिनदेखिको वर्षाको कारणले पनि हवाई उडानमा समस्या देखिँदै आएको छ । नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको छ । सन्दीप विदेशमै रहेको बेला गत २१ भदौमा एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिजमा थिए ।

पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । अब प्रहरीले सुरुमा सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ । स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरु गर्नेछ ।

फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ ।

बिहीबार सन्दीप पक्राउ परे लगत्तै अब प्रहरीले २४ घण्टाभित्र अदालतबाट अनुसन्धानका लागि म्याद लिनुपर्ने हुन्छ ।