जनकपुरधाम । सर्लाहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । सर्लाहीको पर्सा गाउँपालिका १ का बालदत्त भन्ने रमजेश कुमार रायको श्रीमती २० वर्षीया निशा यादवको हत्याको आरोपमा श्रीमानसहित ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गत जेठ २२ गते रातिदेखि निशा आफ्नो घरबाट हराएकी थिइन् । छोरी हराएको भन्दै निशाका बुवा कैलाश रायले छोरी हराएको भन्दै जेठ २३ गते र ससुराले बुहारी हराएको भन्दै जेठ २४ गते प्रहरीमा खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

त्यसपश्चात प्रहरीले अनुसन्धान गर्दै जाँदा घर परिवार तथा शंकित व्यक्तिहरुसँगको सोधपुछ तथा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निशाको घर परिवारको सदस्यहरुमाथि शंका लागि श्रीमान, ससुरा र देवरसँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा उनीहरुले हत्या गरेर फ्याकेको खुलेको प्रहरीले जनाएका छन् ।

तीनैजनाले निशाको हत्या गरेर घरदेखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी निशाको लाश पुरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले भने ।

तिनीहरुको बयानको आधारमा शुक्रवार विहान प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहितको टोली आरोपितले देखाएको स्थानमा धान रोपेको खेतको आली छेउमा ६ फिट भन्दा बढी गहिराईसम्म खाल्डो खन्दा जलेको अवस्थामा निशाको शव फेला परेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।

निशाको शव जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडीसहित सडेगलेको अवस्थामा फेला पारेको हो ।

निशाको हत्या कुन कारणले भएको अहिले नखुलेको प्रहरी नायव उपरीक्षक यादवले भने । उनले भने, ‘हत्याको कारण अहिले खुलेको छैन् । निशा बेपता हुनुभन्दा एकदिन अघि जेठ २२ गते घरमा झगडा भएको थियो । त्यतिबेला मृतकको बुवापनि उनको घरमा आएका थिए । पछि उहाँ गइसकेपछि अर्कोदिन देखि निशा बेपता भएको थियो ।’

निशा बेपता भएपछि पहिला बुवा र त्यसपछि ससुराले निवेदन दिएपछि खोजतलास सुरु गरिएको थियो । हत्याको स्पष्ट कारण अहिले खुल्न नसकेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।