विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु, पहिलो दिन ‘नगरदर्शन’

जनकपुरधाम, १६ मंसिर । सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु भएको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ गराइने भएको छ ।
नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी बालकलाई जानकी मन्दिरको प्रांगणमा घुमाउने परम्परा रहेको छ । त्रेतायुगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगरदर्शन गरिने गरिन्छ ।
त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगरदर्शन गरेको तथा मिथिलाबासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यता अनुसार ‘नगरदर्शन’ गराइन्छ ।
नगरदर्शनमा कृतिम नगरको परिकल्पना गरी भगवान् राम र लक्ष्मण सबैको द्वारद्वार (घरघर) मा जाने परम्परा अनुसार घरघरमा जान्छन् । दर्शनमा राम लक्ष्मणको दर्शन गर्न दर्शनार्थीको भीड लाग्छ ।
सात दिनमा नगरदर्शनका अतिरिक्त फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।
रामजानकी महोत्सव हेर्न जनकपुरधाममा विशेष गरी भारतीय तथा आन्तरिक पर्यटकको भीड बढ्ने गर्दछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


