जनकपुरधाम, १५ मंसिर । श्री सीताराम विवाह महोत्सव (विवाहपञ्चमी) को मेला भर्न आएका यात्रुहरुलाई मध्यनजर गर्दै जनकपुरधाममा निःशूल्क भोजन, आवास, शौचालय, स्नानघर तथा पानीको व्यवस्थापन गरिने भएको छ ।

विवाहपञ्चमी महामहोत्सवमा जनकपुरधाममा आउने तिर्थालुहरुको सुविधालाई मध्यनजर गर्दै जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा एन–प्याब्सन, प्याब्सन तथा हिसानले निःशूल्क भोजन, आवास, शौचालय, स्नानघर तथा पानीको व्यवस्थापन गर्ने भएको हो ।

जनकपुरधामका विभिन्न ठाउँमा विभिन्न समुदाय तथा संघसंस्थाहरुले समेत यात्रुहरुलाई खानाको निःशूल्क व्यवस्था गर्न लागेको हो ।विभिन्न संघसंस्थाले विवाहपञ्चमीमा मेला भर्न आउने यात्रुहरुका लागि निःशूल्क भोजनको व्यवस्था गर्दै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।

विगत केही वर्षदेखि विभिन्न ठाउँमा भोजनको व्यवस्था गरिएको देखिन्छ । यसअघि बाह्रविघा मैदानमै विशाल भण्डाराको आयोजना हुँदै आएकोमा अहिले विभिन्न ठाउँमा छुट्टाछुट्टै निःशूल्क भोजनको शिवर आयोजना हुँदै आएको र सोहीअनुरुप आफूहरुले पनि सो कार्य गर्न लागेको हिसान धनुषाका अध्यक्ष सञ्जिव ठाकुरले बताए ।

एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दिपक ठाकुरले जनकपुरधाममा सञ्चालन हुने निःशूल्क भोजनको शिविरहरुमा गएर भोजन गर्न यात्रुहरुसँग अनुरोध गरेका छन् । अतिथि देवो भवः भन्दै उनले अतिथि सत्कारको लागि निःशूल्क भोजन शिविर चलाइने जानकारी दिए ।