मिठाई पसलमा मूल्यदेखि म्यादसम्मको विवरण अनिवार्य, अटेर गरे कारबाही हुने
जनकपुरधाम, १६ कार्तिक । जनकपुरधामका मिठाई पसल, होटल, रेस्टुरेन्ट तथा खाजाघर सञ्चालकले अब खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले खाद्य व्यवसायीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कार्यालयले सोमबार जनकपुरधाम उद्योग वाणिज्य संघमा खाद्य व्यवसायीसँग अन्तरक्रिया गर्दै खाद्य पदार्थको गुणस्तर, स्वच्छता र उपभोक्ताको सूचनाको अधिकार सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार मिठाई बिक्री गर्ने व्यवसायीले बिक्रीका लागि राखिएका प्रत्येक प्रकारका मिठाईको नाम, मुख्य मिश्रण, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्नेछ । यी विवरण ग्राहकले सहजै देख्न सक्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्नुपर्ने कार्यालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचनाअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ बमोजिम उक्त व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । तोकिएको मापदण्ड पालना नगर्ने व्यवसायीलाई कानुनी कारबाही गरिने चेतावनीसमेत कार्यालयले दिएको छ ।
खाद्य निरीक्षण अधिकारी प्रविणकुमार तिवारीका अनुसार विभागले असोज ३० गते पठाएको सूचनाका आधारमा कात्तिक ११ गतेदेखि नै व्यवसायीलाई आवश्यक विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
उनका अनुसार जनकपुरधामका माँ जानकी डेरी, लड्डु गोपाल ट्रेडर्स, नन्दनी डेरी उद्योग, हंसराज मिठाई पसल, लक्ष्मी मिष्ठान भण्डार, रघुपति मिष्ठान भण्डार, श्रीराम लस्सी र गोपाल डेरी उद्योगलगायतका व्यवसायले विवरण सार्वजनिक गर्न थालिसकेका छन् ।
अन्तरक्रियामा जनकपुरधामका साना तथा ठूला मिठाई पसल, खाजाघर र रेस्टुरेन्ट सञ्चालकलाई सहभागी गराउँदै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको तिवारीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भट्टराई प्रमुख अतिथि तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहाल अध्यक्ष थिए । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खाद्य निरीक्षण अधिकृत प्रदीप संग्रौलाले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी व्यवस्थाबारे व्यवसायीलाई जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





