रेडक्रस धनुषामा मंगलबार ८७ युनिट रगत मौज्दात
जनकपुरधाम, १७ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामको रक्त सञ्चार केन्द्रमा हाल ८७ युनिट रगत मौज्दात रहेको छ ।
मंगलबार सार्वजनिक गरिएको रक्त भण्डार विवरणअनुसार विभिन्न आठ रक्त समूहका गरी ८७ युनिट रगत उपलब्ध रहेको छ ।
रेडक्रसका अनुसार हाल ए पोजेटिभ २४, बी पोजेटिभ ३५, ओ पोजेटिभ ६, एबी पोजेटिभ १३, ए नेगेटिभ ४, बी नेगेटिभ १, ओ नेगेटिभ ३ र एबी नेगेटिभ १ युनिट रगत मौज्दात छ ।
त्यस्तै, प्याक्ड रेड ब्लड सेल्स (पीआरबीसी) अन्तर्गत ए पोजेटिभ ४ र बी पोजेटिभ ६ गरी थप १० युनिट उपलब्ध रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रगतको माग र आपूर्तिबीच सन्तुलन कायम राख्न नियमित रक्तदान आवश्यक रहेको बताए ।
उनले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध गराउन रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सभापति महतोले भने, ‘रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ । दुर्घटना, प्रसूति सेवा तथा आकस्मिक शल्यक्रियाका बिरामीका लागि समयमै रगत उपलब्ध हुनु जीवन रक्षासँग जोडिएको विषय हो । त्यसैले स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्न आवश्यक छ ।’
उनले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिन आग्रह गर्दै युवा, सामाजिक संघसंस्था तथा विभिन्न समुदायलाई रक्तदान अभियानमा सहभागी हुन अपिल गरे ।
रेडक्रसले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित रक्तदानका लागि सबैमा आह्वान गरेको छ । एक युनिट रगतले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले रक्तदानप्रति जनचेतना बढाउनुपर्ने शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





