१५ वर्षदेखि अधुरै कमला पुल, नदी वारपार गर्न अझै डुंगाकै सहारा
जनकपुरधाम, १६ कार्तिक । सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन पुल १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुल निर्माणले गति लिन नसक्दा स्थानीयवासी तथा यात्रुहरूलाई अझै जोखिम मोलेर डुंगाबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ ।

पुल निर्माण सम्पन्न भए सिरहाबाट मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न करिब ३० मिनेट मात्रै लाग्ने भए पनि अहिले वैकल्पिक मार्ग प्रयोग गर्दा दुईदेखि तीन घण्टासम्म समय खर्चिनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

२०६८ सालमा करिब २४ करोड ९० लाख रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्ती र २०७८ सालको बाढीले पुलको संरचनामा क्षति पुर्याएपछि निर्माण कार्य थप प्रभावित बनेको हो ।

यसैबीच, पुल निर्माणलाई गति दिने भन्दै विभिन्न समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूले समेत स्थलगत अनुगमन गरी चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, वर्षौं बितिसक्दा पनि पुलको अवस्था परिवर्तन हुन सकेको छैन । पटकपटकको आश्वासनका बाबजुद पुल निर्माण अधुरै रहँदा स्थानीयमा निराशा र आक्रोश बढ्दै गएको छ ।

भदौ २३ र २४ गतेको जनआन्दोलनपछि नयाँ राजनीतिक शक्तिप्रति आशावादी बनेका स्थानीयले आगामी दिनमा पुल निर्माणले गति लिने विश्वास लिएका थिए । तर, जेठ १५ गते सार्वजनिक भएको बजेटमा सरकारले हुलाकी राजमार्गअन्तर्गत आठवटा पुल निर्माण गर्ने घोषणा गरे पनि कमला पुल त्यसमा समेटिएको हो वा होइन भन्ने स्पष्ट जानकारी नहुँदा उनीहरू थप अन्योलमा छन् ।

दुई जिल्लाको आवागमन, व्यापार, शिक्षा, स्वास्थ्य तथा जनजीवनसँग प्रत्यक्ष जोडिएको कमला पुल निर्माणमा भइरहेको ढिलाइले राज्यको विकास प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





