रौतहट, १६ कार्तिक । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त रकम फेला पारेको थियो ।

प्रहरीका अनुसार दासको साथबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको हो ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।