काठमाडौं, १० माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ । हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको हो ।

उनले चौतर्फी आलोचना भएपछि विज्ञप्ति निकाल्दै भनेकी छन्, ‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

गौरकाण्ड दोहो¥याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको थियो । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी हुन्।

उनले भनेकी छन्,‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सोप्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन विनम्र आग्रह पनि गर्दछ । मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछ । साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । आगामी दिनमा यसप्रति सचेत रहनेछ ।’