जनकपुरधाम, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनासम्बन्धी महत्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ । आयोगले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिइएको जनाएको छ ।

अख्तियारको बर्दिबासस्थित टोलीले तिनवटै योजनाका विभिन्न फाइलहरू नियन्त्रणमा लिएको हो । यी योजनाहरू तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा कार्यान्वयन भएका थिए । तीन महिनाअघि अख्तियारमा परेको उजुरीको आधारमा आयोगले छानबिन गर्दै फाइलहरू नियन्त्रणमा लिएको पुष्टि गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा मधेश प्रदेश सरकारको निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम जस्ता सफ्टवेयर खरिद गरिएको थियो । ती सफ्टवेयरहरू एक करोडभन्दा बढी रकममा खरिद गरिए तापनि अहिलेसम्म तिनीहरूको प्रयोगमा ल्याइएन । एक कर्मचारीका अनुसार ती सफ्टवेयरहरू स्टोरमा समेत दाखिला नगरी राखिएका छन् ।

यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान पनि आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्म सञ्चालन भएको थियो । तर, यो कार्यक्रम भ्रष्टाचारको आरोपमा घेरिएपछि तत्कालीन मुख्यमन्त्री राउतले उक्त कार्यक्रमलाई बदनामीबाट बचाउन भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गरेका थिए । अख्तियारले सबै स्वच्छता अभियानसम्बन्धी फाइलहरू पनि नियन्त्रणमा लिएको छ ।

अख्तियारले पछिल्लो पाँच दिनदेखि मधेश मुख्यमन्त्री कार्यालयसँग नियमित सम्पर्क गर्दै फाइलहरूको खोजी गर्दै आएको थियो । आयोगका एक अधिकारीका अनुसार यी फाइलहरूको छानबिन पूरा भएपछि भ्रष्टाचारको संकेत भेटिएमा थप कारवाही गरिनेछ ।