जनकपुरधाम, १७ कार्तिक । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय तथा मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी र अपारदर्शिता भएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको मुख्य गेटअगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन् ।

कर्मचारी सरुवामा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको आरोप लगाउँदै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले पहुँच र प्रभाव भएका कर्मचारीको सरुवा रोकिएको तर पहुँच नभएका कर्मचारीलाई मात्र सरुवा गरिएको आरोप लगाए ।

मुख्यमन्त्री तथा मन्त्रालयका अधिकारीहरूको निर्देशनमा केही कर्मचारीको सरुवा रोकिएको भन्दै उनले त्यसको आधार र निर्णय प्रक्रियाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

त्यसैगरी, सरुवामा हुने राजनीतिक संरक्षण र अपारदर्शी चलखेल अन्त्य गर्नुपर्ने, सरुवा रोक्नुको कारण सार्वजनिक गर्नुपर्ने तथा महिला र नवप्रवेशी कर्मचारीमाथि हुने विभेद र मानसिक दबाब अन्त्य गरी सम्मानजनक कार्यस्थलको वातावरण सुनिश्चित गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ ।

अभियानका अध्यक्ष यादवले दीपावलीअघि नै माग सम्बोधन गर्न प्रदेश सरकारलाई समयसीमा दिएका छन् ।

तोकिएको समयभित्र माग पूरा नभए मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि थप सशक्त धर्ना दिनुका साथै प्रदेशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।