एक लाख रुपैयाँ घुससहित मालपोतका नायब सुब्बा पक्राउ
सर्लाही, १८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) का एक नायब सुब्बालाई एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे स्टिङ अपरेसन गरी प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई पक्राउ गरेको हो ।
लालबन्दी घर भएका तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको र सोही रकम लिने क्रममा पक्राउ परेको बताइएको छ ।
अख्तियारको टोलीले मालपोत कार्यालयको प्रशासन फाँटबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तिमिल्सिनामाथि घुस रकम लिएको आरोपमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले जानकारी दिए ।
घटनाबारे अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





