जनकपुरधाम, १८ कार्तिक । युवापुस्तामा बढ्दै गएको लागुऔषध दुर्व्यसनको समस्या र यसले समाज तथा भविष्यको पुस्तामा पार्ने असरबारे सचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल मधेश प्रतिष्ठान र नागरिक चौताराको संयुक्त आयोजनामा मोनास्टिक स्कुलमा आयोजित प्रतियोगितामा कक्षा ८ देखि ११ सम्मका १० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीले नेपाली, मैथिली र अंग्रेजी भाषामा १०–१० मिनेटसम्म मन्तव्य राख्दै लागुऔषध दुर्व्यसनका कारण, यसले युवा पुस्ताको स्वास्थ्य, शिक्षा, पारिवारिक जीवन तथा सामाजिक वातावरणमा पार्ने प्रभावबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मोनास्टिक स्कुलका निर्देशक डा. सोनु साहले लागुऔषध दुर्व्यसन युवापुस्ताको भविष्यका लागि गम्भीर चुनौती बन्दै गएको बताए ।

उनले दुर्व्यसन नियन्त्रणका लागि कानुनी कारबाही र उपचारसँगै विद्यालयस्तरबाटै सचेतना, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा जोड दिनुपर्ने धारणा राखे ।

उनका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी समाजमा विद्यमान समस्याबारे खुलेर विचार राख्ने, सही र गलत छुट्याउने तथा जिम्मेवार निर्णय लिन सक्ने बनाउनु आजको शिक्षाको महत्वपूर्ण उद्देश्य हो ।

यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास, अभिव्यक्ति क्षमता र सामाजिक उत्तरदायित्व बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी वक्ताले युवापुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

नागरिक चौताराकी वरिष्ठ सदस्य विभा ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा शिक्षाविद् अयोध्यानाथ चौधरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवान र युवा अभियन्ता एवं वक्ता आँसु चौधरी निर्णायकका रूपमा रहेका थिए ।

नेपाल मधेश प्रतिष्ठानका नागरिक सहभागिता अधिकृत नित्यानन्द मण्डलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नागरिक चौताराका अरुणकुमार राउतले सहजीकरण गरेका थिए ।

प्रतियोगितामा कक्षा ११ की श्रेया मिश्र प्रथम, कक्षा ८ की समीक्षा यादव द्वितीय र कक्षा ८ की गुडिया साह तृतीय भएकी थिइन् ।

विजेतालाई प्रमाणपत्र तथा पुस्तक प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।

युवापुस्तालाई लागुऔषध दुर्व्यसनजस्ता सामाजिक समस्याबारे जानकारी गराउँदै उनीहरूमा सचेतना, आत्मविश्वास र सकारात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।