रौतहट, १८ कार्तिक । रौतहटको मौलापुर बजारमा बाँदरको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बाँदरले पटकपटक मानिसमाथि आक्रमण गर्दा हालसम्म करिब १५ जना घाइते भएको बताइएको छ ।

बुधबारसम्म मौलापुर बजारस्थित स्मार्ट चोक आसपास बाँदरले घर, पसल तथा अस्पताल परिसरमा प्रवेश गरेर मानिसमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । बजार क्षेत्रमा बाँदरको गतिविधि बढेपछि सर्वसाधारण तथा व्यवसायीसमेत जोखिममा परेका छन् ।

बाँदरको आक्रमणबाट मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीसमेत त्रसित बनेका छन् । अस्पताल परिसरमै बाँदर प्रवेश गरेर आक्रमण गर्न थालेपछि स्वास्थ्यकर्मीलाई नियमित कामकाज गर्नसमेत कठिनाइ भएको स्थानीयको भनाइ छ ।

बजार क्षेत्रमा बाँदरको आतङ्क बढ्दै गएपछि स्थानीयले तत्काल नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरेका छन् । बाँदरको आक्रमणबाट थप मानवीय क्षति हुन नदिन मौलापुर नगरपालिका र सुरक्षा निकायले आवश्यक पहल गर्नुपर्ने उनीहरूको माग छ ।

इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले बाँदरको आक्रमणबाट मानिसहरू घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार जङ्गली बाँदर नियन्त्रणका लागि प्रहरीसँग आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध छैन ।

बाँदर नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन डिभिजन वन कार्यालय रौतहटलाई आग्रह गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

बजार क्षेत्रमै बाँदरको आक्रमण बढेपछि सर्वसाधारण, व्यवसायी तथा स्वास्थ्यकर्मीको सुरक्षामा चुनौती थपिएको छ । सम्बन्धित निकायले समयमै बाँदर नियन्त्रणको व्यवस्था नमिलाए थप मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।