जनकपुरधाम, १८ कार्तिक । जनकपुरधामस्थित नेपाल रेल्वे सेवामा यात्रुले भोग्दै आएका विभिन्न समस्या तत्काल समाधान गर्न माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अभियानले बुधबार नेपाल रेल्वे कम्पनीको जनकपुरधामस्थित कार्यालयमा पुगेर महाप्रबन्धकसमक्ष ज्ञापनपत्र बुझाउँदै रेल्वे स्टेसन तथा प्लेटफर्मको सरसफाइ, यात्रु सुविधाको व्यवस्थापन, भौतिक संरचनाको मर्मतसम्भार र रेल्वे सेवाको विस्तारलगायतका विषयमा तत्काल सुधार गर्न माग गरेको हो ।

अभियानका संयोजक जितेन्द्र महासेठले जनकपुरधाम धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अन्तर्राष्ट्रिय पहिचानको शहर भएकाले यहाँको रेल्वे सेवा पनि सोहीअनुसार व्यवस्थित र सुविधासम्पन्न हुनुपर्ने बताए ।

भारतको अयोध्याबाट जनकपुरधामसम्म रामायण सर्किटअन्तर्गत रेल सेवा सञ्चालनको तयारी भइरहेका बेला जनकपुर रेल्वेको वर्तमान अवस्थाले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने उनको भनाइ छ ।

महासेठले जनकपुरधाम माता जानकीको जन्मभूमि तथा भगवान् राम र सीताको विवाहस्थलका रूपमा विश्वभर परिचित रहेको उल्लेख गर्दै धार्मिक पर्यटक तथा तीर्थयात्रीको पहिलो प्रवेशद्वार रेल्वे स्टेसन भएकाले यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘अयोध्याबाट जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुने तयारी भइरहेका बेला यहाँको रेल्वे स्टेसनको अवस्था सुधार गर्न अत्यन्त आवश्यक छ । भारतबाट आउने तीर्थयात्रीले जनकपुरधाममा रेलबाट ओर्लिनेबित्तिकै अव्यवस्था, फोहोर र असुविधा सामना गर्नुपर्ने अवस्था आउनु हुँदैन । त्यसैले अहिले देखिएका समस्या तत्काल समाधान गरी रेल्वेलाई व्यवस्थित र पर्यटकमैत्री बनाउनुपर्छ ।’

ज्ञापनपत्रमा रेल चढ्ने तथा ओर्लिने यात्रुको सहज आवागमन र व्यवस्थापनका लागि उचित व्यवस्था मिलाउन माग गरिएको छ । प्लेटफर्मको दैनिक सरसफाइको अवस्था दयनीय रहेको उल्लेख गर्दै उच्चस्तरको सफाइ व्यवस्था लागू गर्न अभियानले आग्रह गरेको छ । त्यस्तै, यात्रु प्रतीक्षालयलाई सुविधासम्पन्न तथा व्यवस्थित बनाई नियमित सञ्चालनमा ल्याउनुपर्ने माग पनि अघि सारिएको छ ।

अभियानले रेल्वे प्लेटफर्ममा बिग्रिएका भौतिक संरचनाको तत्काल मर्मतसम्भार गर्नुपर्ने, खानेपानी तथा शौचालयको उचित व्यवस्थापन गरी नियमित सञ्चालन गर्नुपर्ने र लामो समयदेखि सञ्चालनमा नरहेका विद्युतीय उपकरण तथा अन्य साधन मर्मत गरी प्रयोगमा ल्याउनुपर्ने माग गरेको छ ।

त्यसैगरी, रेल्वे कम्पनीको कम्पाउन्डभित्र रहेका खाली तथा घेराबार गरिएका जग्गालाई व्यवस्थित पार्क र बगैँचाका रूपमा विकास गर्नुपर्ने अभियानको सुझाव छ । यसले रेल्वे परिसरको सौन्दर्यीकरणसँगै यात्रु तथा पर्यटकलाई स्वच्छ र आकर्षक वातावरण उपलब्ध गराउन सहयोग पुग्ने महासेठको भनाइ छ ।

रेल्वे परिसरमा निर्माण सम्पन्न भइसकेका दैनिक हाटबजारका लागि बनाइएका सटर तथा भवन लामो समयदेखि पूर्ण रूपमा उपयोगमा आउन नसकेको भन्दै अभियानले तिनलाई अविलम्ब सञ्चालनमा ल्याउनसमेत माग गरेको छ । निर्माण भएका संरचना प्रयोगविहीन राख्दा राज्यको लगानी खेर जाने भएकाले तिनको उचित उपयोग र व्यवस्थापन गर्नुपर्ने महासेठले बताए ।

यसैगरी, रेल्वे क्रसिङ क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको विषयलाई पनि ज्ञापनपत्रमा प्राथमिकताका साथ उठाइएको छ । रेल्वे क्रसिङ आसपासका सडक मर्मत गरी आवश्यक संकेत, छेकबार तथा सुरक्षा प्रबन्ध मिलाउन अभियानले माग गरेको छ ।

रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्नुपर्ने महासेठको भनाइ छ ।

अभियानले यात्रु सेवामा मात्र सीमित नरही रेल्वेको आर्थिक तथा व्यावसायिक सम्भावनालाई समेत उपयोग गर्नुपर्नेमा जोड दिएको छ । त्यसका लागि लामो समयदेखि अपेक्षित रहेको मालवाहक ढुवानी सेवा अविलम्ब सञ्चालन गर्नुपर्ने माग गरिएको छ । मालवाहक सेवा सञ्चालनमा आए जनकपुरधामसहित मधेस प्रदेशको व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अभियानको विश्वास छ ।

संयोजक महासेठले नेपाल रेल्वे केवल यात्रु ओसारपसार गर्ने माध्यम मात्र नभई जनकपुरधामको धार्मिक पर्यटन, व्यापार र अन्तरदेशीय सम्बन्धको महत्त्वपूर्ण आधारसमेत भएको बताए । त्यसैले रेल्वेको सेवा विस्तारसँगै पूर्वाधार, सरसफाइ, सुरक्षा र व्यवस्थापनमा पनि सुधार हुनुपर्ने उनले औँल्याए ।

उनले सम्बन्धित निकायलाई ज्ञापनपत्रमा उल्लेख गरिएका मागलाई सामान्य गुनासोका रूपमा मात्र नलिई जनताको प्रत्यक्ष सरोकार र जनकपुरधामको प्रतिष्ठासँग जोडिएको विषयका रूपमा लिन आग्रह गरे । रेल्वे कम्पनीले तत्काल सुधारका काम अघि नबढाए यात्रु तथा सर्वसाधारणले भोग्दै आएका समस्या थप जटिल बन्न सक्ने उनको चेतावनी थियो ।

जनसरोकार अभियानले बुझाएको उक्त ज्ञापनपत्रको बोधार्थ भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई समेत पठाएको जनाएको छ ।

जनकपुरधाम–जयनगर रेल सेवा विसं १९९३ देखि सञ्चालनमा आएको ऐतिहासिक पृष्ठभूमि छ । बीचमा विभिन्न कारणले सेवा अवरुद्ध भए पनि नेपाल सरकारको पहलमा भारत सरकारको सहयोगमा रेलमार्गलाई ब्रोडगेजमा रूपान्तरण गरी २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालन गरिएको थियो ।

अहिले रामायण सर्किटअन्तर्गत भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा विस्तार गर्ने विषयले चर्चा पाइरहेका बेला स्थानीय स्तरमा रेल्वेको पूर्वाधार र सेवा सुविधामा सुधार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा जनकपुरधामको पहिचान थप विस्तार हुँदै गएको अवस्थामा रेल्वे स्टेसनको सरसफाइ, यात्रु सुविधा, सुरक्षा र समग्र व्यवस्थापन सुधार गर्नुपर्ने मागलाई अभियानले अघि सारेको हो ।