जनकपुरधाम, १७ कार्तिक । धनुषाको धनौजी गाउँपालिकाले स्थानीय सेवाग्राहीलाई सहज र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको कार्यालयबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित सवारी चालक अनुमतिपत्रसम्बन्धी परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाभित्रका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई अनावश्यक झन्झटबाट मुक्त गर्दै घरआँगनमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको हो ।

उनका अनुसार पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको चालक अनुमतिपत्र प्राप्त भएपछि वितरण प्रक्रिया सुरु गरिएको हो ।

पालिकाबाटै लाइसेन्स प्राप्त गर्न सकिने व्यवस्था भएपछि अब अनुमतिपत्र लिनकै लागि यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

ग्रामीण क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी सुरु गरिएको यस व्यवस्थाले स्थानीय तहबाटै नागरिकलाई सेवा उपलब्ध गराउने प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।