जनकपुरधाम, १८ कार्तिक । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना बहुविवाह, एक जना चोरी, एक जना सवारी ज्यान र एक जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन् ।

धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत बहुविवाह मुद्दाका दुई प्रतिवादीलाई जनही ५ सय रुपैयाँ, चोरी मुद्दाका प्रतिवादीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना, सवारी ज्यान मुद्दाका प्रतिवादीलाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दाका प्रतिवादीलाई १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक एवं प्रवक्ता अरविन्द कुमार साहले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।